फेरिँदैछ काठमाडौंको रुप

काठमाडौं– पानी परे हिलो, घाम लागे धुलो!
काठमाडौं महानगरका सडकको हालत नै यस्तो! जता हेर्‍यो धुलो–धुवाँ। खाल्डाखुल्डी। घन्टौं लामो ट्राफिक जाम। न पैदलयात्रीलाई हिँड्न सजिलो बाटो, न निष्फिक्री गाडी कुदाउने मेसो। न बिहान स्वच्छ हावा खाँदै 'मर्निङ वाक' गर्ने ठाउँ, न साँझ टहल्ने, केटाकेटीसँग रमाउन खुला पार्क नै भेटिन्छ।
यो अस्तव्यस्त सहरकै देन हो, बिहान घरबाट उत्साहित हुँदै हिँडेको मान्छे अफिस पुग्दासम्म थकित भइसक्छ, काम गर्ने जाँगर मरिसक्छ।
तर, अब काठमाडौं फेरिँदैछ।
त्यो दिन टाढा छैन, जब काठमाडौंका सडक मात्र होइन, फुटपाथ, पार्क, नदीनालासमेत फेरिएर सुन्दर र आकर्षक देखिनेछन्। पैदलयात्रीलाई हिँड्ने ठाउँ हुनेछ, गाडी कुदाउनलाई चौडा सडक। केटाकेटी घुमाउन पार्क, मर्निङ वाक गर्ने ठाउँ।
अस्तव्यस्तताले बिग्रिएको र 'धुलोमाडौं' को परिचय पाएको काठमाडौंमा परिवर्तनका प्रारम्भिक संकेत देखिन थालिसके। कतिपय ठाउँमा परिवर्तनका खाका बनिसके।

कस्तो हुँदैछ त काठमाडौं?

उपत्यकामा विस्तार भइरहेका सडकले काठमाडौंको फेरिँदो रूपको छनक दिन्छ। महाराजगन्ज–लैनचौर, तीनकुने–माइतीघर, भक्तपुर–कोटेश्वर लगायत सडक विस्तार भएका छन्। खाल्डाखुल्डीका समस्या क्रमशः हट्दै गएका छन्। काठमाडौं उपत्यका विकास प्राधिकरणले सहरी सुन्दरता कायम राख्न फराकिला र चिल्ला सडक मात्र होइन, उपत्यकाका भित्री सडकमा एरियापिच्छे बेग्लाबेग्लै रंगरोगनको योजनासमेत अघि बढाएको छ।
प्राधिकरणका प्रमुख विकास आयुक्त योगेश्वर पराजुलीका अनुसार फराकिला सडकका छेउछाउमा हरियाली कायम गर्नुका साथै रंगरोगन सुरु भइसकेको छ। 'ठूला मात्र होइन, भित्री सडक पनि रंगाउने तयारीमा छौं,' सहरी विकासको खाका देखाउँदै उनले नागरिकसँग भने, 'सडकसँग जोडिएका भित्तामा पनि रंग लगाइनेछ।'
Ktm new-2
यसरी सडक छेउछाउ रंगरोगन गर्दा जथाभावी रंग लगाउन पाइँदैन। सहरी सुन्दरता कायम राख्न तोकिएको ठाउँमा तोकिएको रंग मात्र लगाउने व्यवस्था गरिएको छ। यतिमात्र होइन, सडक किनारका घरहरूमा पनि एकै किसिमको रंग लगाउने प्रावधान ल्याइँदैछ। यो आगामी आर्थिक वर्षबाटै सुरु हुने पराजुलीले जनाए।
'ठाउँठाउँमा हरियाली र वृक्षरोपण तथा सोलार बत्ती निर्माण पनि अघि बढाइँदैछ,' उनले भने, 'जथाभावी लत्रेका तार, अव्यवस्थित पोल, पोस्टरले राजधानीलाई कुरुप बनाएको छ, तर अब ती केही रहनेछैनन्। दसैंसम्ममा राजधानीका सडक–गल्लीमा लत्रेका तार हटाउनेछौं। बिजुलीका पोलमा टाँसिएका पोस्टर सफा गर्नेछौं। मठमन्दिर तथा धार्मिक क्षेत्रलाई टल्काउनेछौं।'
योजनाअनुसार प्राधिकरणले आगामी आर्थिक वर्षमै उपत्यकाका ६ वटा मुख्य सडकलाई सुन्दर सडकको नमुना बनाउनेछ। जापान सरकारको सहयोगमा देशमै सबैभन्दा फराकिलो र सुन्दर सडकको नमुना बनेको कोटेश्वर–सूर्यविनायक खण्डभन्दा आकर्षक र फराकिलो सडक बनाउन प्राधिकरणले कार्यक्रम बनाइसकेको छ।
पराजुलीका अनुसार पहिलो चरणमा तीनकुने–माइतीघर, डिल्लीबजार चारखाल–महाराजगन्ज, लैनचौर–शीतल निवास, सातदोबाटो–धापाखेल, कमलपोखरी–गौशाला र नक्साल खण्डको सडकलाई नयाँ स्वरुप दिइँदैछ। अबको एक वर्षमा यी छवटै सडक खण्डको निर्माण पूरा हुने उनले जनाए। 'सडक निर्माणसँगै रंगरोगन, हरियाली, सौर्य सडक बत्ती र ट्राफिक लाइट जडानजस्ता निर्माण कार्य पनि गरिनेछ,' उनले भने।
प्राधिकरण प्रवक्ता केशव न्यौपानेले यी छवटै सडक खण्डमा गरिने रंगरोगन, हरियाली र सडकसँग जोडिएका निजी तथा सरकारी घरका भित्तामा लगाइने रंगको डिजाइन तयार भइसकेको जानकारी दिए। उनका अनुसार सडकमा वृक्षरोपण गर्न नमिले सडकसँग जोडिएका घरले आफ्नो भित्तामा हरियाली फैलिने खालका बिरुवा लगाउनुपर्नेछ।
'सहर सुन्दर बनाउन सडक मात्र फराकिलो पारेर पुग्दैन, वातावरणमैत्री पनि हुनुपर्छ,' न्यौपानेले भने, 'त्यसैले, सम्भव भएका क्षेत्रमा वृक्षरोपण र नभएका ठाउँमा भित्तामा हरियो रंग लगाउने वा हरियोपरियो देखिने गरी लहरे बिरुवा लगाउने व्यवस्था गरिँदैछ।' फुटपाथलाई पैदलयात्रुमैत्री मात्र होइन, अपांगमैत्री बनाउने कार्यक्रमसमेत तयार भइसकेको उनले बताए। जोरपाटीको फुटपाथलाई अपांगमैत्री बनाउने कार्य सुरु भइसकेको छ।
उपत्यकाका यी भौतिक पूर्वाधार निर्माणमा प्राधिकरणसहित काठमाडौं उपत्यका सडक विस्तार आयोजना, उपत्यकाका तीनवटै जिल्लाका डिभिजन सडक कार्यालय, महानगरपालिका, उपमहानगरपालिकाहरू, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालयलगायत निकाय आ–आफ्ना क्षेत्रबाट लागिरहेका छन्।
सरकारले काठमाडौं उपत्यकालाई सुन्दर बनाउन साढे दुई वर्षअघिदेखि सडक विस्तारको काम अघि बढाएको हो। हालसम्म उपत्यकाभित्र १ सय ८५ किलोमिटर सडक विस्तार भइसकेको छ। यसबीच सरकारले ९० किलोमिटर सडक कालोपत्रे गरेको छ। अबको दुई वर्षमा उपत्यकाका सानाठूला गरी कुल ५ सय किलोमिटर सडक विस्तार गरिनेछ। विस्तारित सडक निर्माणपछि उपत्यकाका धेरै ठाउँमा ८ र ६ लेनका सडक हुनेछन्। भित्री सडक पनि धेरै मात्रामा ४ लेनका हुनेछन्।

तीन वर्षभित्र सोलारले झिलिमिली 

तीन वर्षभित्र उपत्यकाका सबै सडकमा सोलार बत्ती जडान गरी रातको समयमा पनि झिलिमिली पार्ने योजना छ। यसैअनुरुप सिंहदरबार, दरबारमार्ग र थापाथलीमा काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गरी सोलार बत्ती जडान गरिसकेको छ। सडकका दुवैतर्फ सोलार बत्ती राख्ने मात्र होइन, सहरलाई कुरुप बनाउने होर्डिङ बोर्डसमेत हटाइनेछ। लत्रिएका तार हटाएर भूमिगत तार बिछ्याउने योजना रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले विस्तारित सडकमा सवारी व्यवस्थापनका लागि साना सार्वजनिक सवारी हटाउने योजनासमेत तयार पारेको छ। त्यसको सट्टा ठूल्ठुला बस सञ्चालन गरिनेछन्। प्राधिकरणले यो कार्यक्रम २० वर्षे योजनाअन्तर्गत समावेश गरेको छ। पराजुलीका अनुसार उपत्यकालाई व्यवस्थित गर्न प्राधिकरणले २० वर्षे दीर्घकालीन योजना तयार पारेको छ। 'तत्काललाई साना सवारी हटाउन नसके पनि बिस्तारै हटाएर मास ट्रान्सपोर्टमा जाने योजनामा छौं,' उनले भने, 'यस्ता सवारी तोकिएको, निश्चित समयमा आउजाउ हुनेछ।'
काठमाडौंलाई सुन्दर सहर बनाउन ल्याइएको उक्त दीर्घकालीन योजनामा सडक विस्तारसँगै पोखरी संरक्षण, पार्क निर्माण, धार्मिक क्षेत्र संरक्षण, हरियाली व्यवस्थापन, सरसफाइ, फोहोर व्यवस्थापन, नदी सफाइलगायत कार्यक्रम छन्। प्रत्येक कार्यक्रमका लागि समयसीमा किटान गरिएको छ।

घर बनाउन आठ फिट बाटो अनिवार्य

प्राधिकरणले उपत्यकाको अव्यवस्थित घर निर्माणलाई व्यवस्थित बनाउने योजनासमेत ल्याएको छ। सन् २०१६ देखि २०३५ सम्मका लागि तयार पारिएको उक्त योजनाअनुसार अबदेखि काठमाडौं उपत्यकामा घर बनाउन आठ फिट बाटो अनिवार्य गरिएको छ। त्यति बाटो नपुगेको जग्गामा घर बनाउन पाइनेछैन।
काठमाडौंमा कहाँ–कहाँ घर बनाउने, कहाँ बजार हुने, कहाँको क्षेत्र कृषभूमि हो, कहाँ पार्क बनाउनेजस्ता सबै विषय समेटेर भूउपयोग नीति तयार पारिएको छ। 'यो योजना लागू भएपछि जग्गाधनीले आफ्नै जग्गामा पनि आफूखुसी घर बनाउन पाउनेछैन,' उनले भने, 'त्यो क्षेत्र आवासका लागि योग्य भए–नभएको जाँच गराएर योग्य भए मात्र घर बनाउन अनुमति दिइनेछ। घर बनाउन अयोग्य ठाउँमा जग्गाधनीले जबर्जस्ती घर बनाउन कानुनले रोक लगाउनेछ।'

भित्री सहरमा सवारी निषेध

फैलिँदो सहरको सबभन्दा ठूलो समस्या पैदलयात्रुलाई हिँड्ने बाटोको अभाव हो। न पर्याप्त फुटपाथ छन्, न साइकल लेन। भित्री सहरका साँघुरा गल्लीमा एक इन्च ठाउँ नराखी गाडी र मोटरसाइकल कुदिरहेका हुन्छन्। त्यो पनि कान खाने गरी ट्याँट्याँ हर्न बजाउँदै।
प्राधिकरणले यही समस्या सुल्झाउन असन, हनुमानढोका, ठमेल लगायत भित्री सहरी क्षेत्रलाई सवारी निषेधित बनाउने भएको छ। पहिलो चरणमा ठमेलका व्यस्त स्थान र वसन्तपुर दरबार क्षेत्रका करिब ८ किलोमिटर सडकमा सवारी निषेध गर्ने प्रक्रिया सुरु भइसकेको छ। यो लागू भएपछि ती ठाउँमा पैदलयात्रुले बिनाअवरोध हिँड्न पाउनेछन्। यसका लागि महानगरले सडकमा ढुंगा बिछ्याउन थालिसकेको छ।
दोस्रो चरणमा विष्णुमती नदीमाथि र रत्नपार्क–टुँडिखेल सडकबाट भित्र रहेका पुराना सबै सहरी क्षेत्रलाई सवारीमुक्त घोषणा गरिनेछ। उपत्यकामा रहेका अन्य धार्मिक तथा साँस्कृतिक सम्पदा स्थलमा पनि गाडी लैजान रोक लगाउने योजना अघि सारिएको छ।

देशकै फराकिलो नमूना सडक

सरकारी योजनाअनुसार काम भए अबको पाँच महिनाभित्र माइतीघर–तीनकुने सडक देशकै नमूना र सबैभन्दा फराकिलो सडक हुनेछ। उक्त खण्डको सडक निर्माण लगभग सकिएको छ भने 'ग्रिन बेल्ट' (हरियो बगैंचा) निर्माण सुरु भइसकेको छ। बगैंचा निर्माणका लागि बनाइएको स्थानमा सहरी विकास मन्त्री नारायण खड्काले बुधबार वृक्षरोपण गरी ग्रिन बेल्ट निर्माणको सुरुआत गरेका छन्। दुईतर्फी चार लेन सडक र त्यसको दुवैतर्फ दुई–दुई मिटरको हरियो बगैंचा बनाउने काम प्राधिकरणले दसैंअघि नै सक्ने लक्ष्य लिएको छ।
दुई दशमलव ६ किलोमिटर लामो यो सडक देशकै सबैभन्दा चौडा हो। आठ लेनको उक्त सडक झन्डै ५० मिटर फराकिलो छ। सडकका दुवैतर्फ २.५ मिटरकै साइकल लेन बनिसकेको छ। साइकल लेनसँगै दुई–दुई मिटरका फुटपाथ बनाइएको छ। यो सडक निर्माणको काम काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरेको हो।
Ktm new-3
आयोजना प्रमुख श्याम खरेलका अनुसार सडकको बीचमा पर्ने चार लेन सडक तीव्र रफ्तारको हुनेछ भने बाँकी चार लेन सडकमा स्थानीय सार्वजनिक बसहरू सञ्चालन हुनेछन्। सडक निर्माणका लागि ५० करोड रुपैयाँ खर्च भएको छ।

पुल चार लेन नै

तीनकुने–माइतीघर सडक विस्तार गरी आठ लेनको नमूना सडक निर्माणको काम अन्तिम चरणमा पुगे पनि यही खण्डमा पर्ने बागमती र धोबिखोलाको पुल भने चार लेनकै हुने देखिएको छ। सरकारले समयमै योजना बनाउन नसक्दा पुल निर्माणको काम हालसम्म अघि बढेको छैन। आयोजना प्रमुख खरेलले सडक आठ लेनको बने पनि कम्तिमा दुई वर्ष दुवै स्थानको पुल चार लेनको मात्र हुने बताए।
आयोजनाले विस्तारित सडकमा ती दुई खोलामा हाल भएको पुलभन्दा माथि एक–एक र तल एक–एक गरी चार नयाँ पुल निर्माण गर्ने योजना लिएको छ। आयोजनाले पुलको डिजाइन बनाउन दुई ठेकेदारलाई गत वर्ष नै जिम्मा दिएको थियो। मे कन्सल्ट्यान्टले बिजुलीबजारको धोबिखोलामाथि बनाइने पुलको डिजाइन बनाएर दिए पनि अर्को ठेकेदार सिल्ट कन्सल्ट्यान्टले तीनकुने, मीनभवनमा बागमती नदीमाथि बन्ने पुलको डिजाइन अझै तयार पारेको छैन।
आयोजनाले दुवै खोलामा पुल बनाउन थप २५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। खरेलका अनुसार धोबिखोला र बागमतीमा बन्ने दुवै पुलको लम्बाइ २७ मिटर हुनेछ। चारवटै पुल दुई–दुई लेनको हुने र पुलको चौडाइ २२.८६ मिटरको हुनेछ।

भूमिगत सडकसहित आठ लेनको चक्रपथ

अबको दुई वर्षपछि अर्थात २०७३ जेठभित्र कंलकीमा भूमिगत सडक बन्नेछ। कोटेश्वरदेखि कलंकीसम्मको चक्रपथ आठ लेनको हुनेछ। चीन सरकारको सहयोगमा चक्रपथको कोटेश्वर–कलंकी खण्डको १०.३९ किलोमिटर सडक विस्तार तीव्र गतिमा भइरहेको छ। निर्माण सकिएपछि राजधानीको मुख्य नाका कलंकी चोकमा चार लेनको भूमिगत सडक निर्माण गरिनेछ। त्यसका दायाँ–बायाँ दुई–दुई लेनका सहायक सडक बन्नेछन्। भूमिगत सडक 'क्रस' गर्न आठ लेनको बाहिरी सडक निर्माण गरिनेछ।
काठमाडौं चक्रपथ सुधार योजनाका अनुसार कलंकीको ट्राफिक समस्या सुल्झाउन भूमिगत मार्गसहित आठ लेन सडक निर्माण अघि बढेको हो। योजना प्रमुख अशोक तिवारीका अनुसार कलंकी–सातदोबाटो–कोटेश्वर सडक निर्माण लागत ५ अर्ब ९ करोड रुपैयाँ लाग्ने आँकडा छ। उनले कलंकी चोकको भूमिगत बाटो ८ सय ४० मिटर लामो हुने बताए। सडकको डिजाइनअनुसार बल्खुबाट स्वयम्भू जाने सवारीसाधनले कलंकी चोकमा भूमिगत मार्ग प्रयोग गर्नेछन्। भूमिगत सडकमाथिको आठ लेन सडक थानकोट–कलंकी हुँदै कालिमाटी जाने सवारीका लागि हो। चक्रपथका सहायक लेनबाट आएका सवारीले पनि कालिमाटी तथा थानकोटतिर जान यही आठ लेन सडक प्रयोग गर्नेछन्।
यो सडक निर्माणको ठेक्का चीनकै सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले पाएको छ। कम्पनीले सम्झौताअनुसार २०१३ मार्च १५ बाट निर्माण सुरु गरिसकेको छ। कम्पनीसँग २०१२ डिसेम्बर १८ मा यससम्बन्धी सम्झौता भएको थियो। सबै सडक निर्माण सन् २०१६ मे १५ मा सकिने सम्झौतामा छ। सम्झौताअनुसार आठ लेनको सडकसहित उक्त खण्डमा साइकल लेन, हरियालीका लागि बगैंचा र सडक सुन्दरताका लागि रंगरोगनसमेत गरिनेछ।
चीन सरकारले कलंकी–कोटेश्वर खण्ड निर्माणसँगै चक्रपथका बाँकी भाग पनि निर्माण गर्न आवश्यक कार्य अघि बढाइसकेको छ। यसअन्तर्गत अबको सात वर्षभित्र कोटेश्वर–चाबहिल–कलंकी खण्डको निर्माण पूरा गर्ने योजना छ। त्यसपछि सम्पूर्ण चक्रपथ क्षेत्रको विस्तार योजना पूरा हुनेछ। यसका लागि चीन सरकारले सहमति जनाइसकेको तिवारीले बताए।
चीनबाट बाँकी खण्डको काम थाल्न चिनियाँ प्राविधिक टोली काठमाडौं आएर अध्ययन गरिरहेको छ। टोलीले चक्रपथका सबै सडक एकै स्तरको बनाउनुपर्ने भन्दै प्रारम्भिक अध्ययन गरिसकेको छ। काठमाडौं र ललितपुरका विभिन्न क्षेत्र समेटिएको चक्रपथ २७ किलोमिटर लामो छ।

कमलपोखरीको रूप फेरिँदै

ऐतिहासिक परिचय बोकेको कमलपोखरी यतिबेला निकै फोहोर छ। दुर्गन्धले मानिस कमलपोखरीको छेउछाउ जान पनि रुचाउन्नन्। यही कमलपोखरीलाई अबको एक वर्षपछि राजधानीकै मुख्य गन्तव्यका रूपमा विकास गर्ने योजना छ।
प्राधिकरणले कमलपोखरी सफा गरी वरिपरि पार्क बनाउने योजना अघि बढाएको छ। पोखरी वरिपरि विश्राम गर्ने उपयुक्त ठाउँ बनाइनेछ। बालबालिकालाई खेल्ने पार्क र हिँड्ने बाटो पनि निर्माण गरिनेछ। प्राधिकरणकी योजनाकार हिसिला मानन्धरका अनुसार चारैतिर कम्पाउन्ड बनाएर पोखरी संरक्षण गरिनेछ, जहा“सुकैबाट पस्न रोक लगाइनेछ। प्राधिकरणले पोखरी संरक्षणका लागि डिजाइन तयार पारिसकेको छ।
खाली स्थानमा पार्क
भन्नलाई 'काठमाडौंभन्दा सानो' भनिने सिंगापुरमा आँखा थाक्ने गरी पार्क छन्। त्यो देशलाई सडक वा मेट्रोले होइन, एकपछि अर्को पार्कले जोड्छ। काठमाडौंमा भने हरियाली खोज्नुपर्छ। पार्क त झन् चासोको विषय नै रहेन। अबको सहरी विकासमा भने पार्कलाई पनि प्राथमिकतासाथ गुरुयोजनामा राखिएको छ।
उपत्यकामा सीमित मात्रामा रहेका खाली जाग्गा उपयोग गर्दै पार्क बनाउने सरकारको तयारी छ। प्राधिकरणले हाल भइरहेका पार्कलाई व्यवस्थित बनाउनुका साथै खाली रहेका अन्य सार्वजनिक जग्गालाई समेत पार्कमा परिणत गर्नेछ। पहिलो चरणमा प्राधिकरणले एक वर्षभित्र नक्सालस्थित नारायणचौरलाई सुन्दर पार्क बनाउने भएको छ। यसका लागि काम सुरु भइसकेको प्राधिकरणले जनायो। 'नन्दीकेशर बगैंचा' नाम दिइएको उक्त पार्कको काम २०७१ भित्रै पूरा हुने प्राधिकरणका प्रवक्ता केशव न्यौपानेले बताए।
प्राधिकरणका उपविकास आयुक्त भाइकाजी तिवारीका अनुसार तीनकुनेलाई पनि पार्क र बगैंचाका रूपमा विकास गर्ने कार्य अघि बढाइएको छ। 'अहिले तीनकुनेको खाली ठाउँ गाडी चलाउन सिक्ने थलोका रूपमा चिनिन्छ,' उनले भने, 'अबको केही महिनाभित्र त्यो काम बन्द हुनेछ र त्यहाँ सुन्दर पार्क निर्माण हुनेछ।' राजधानीका अन्य क्षेत्रका खाली जग्गामा पनि पार्क बनाउने तयारी भइरहेको तिवारीले बताए।
प्राधिकरणले गोकर्णमा रहेको ३ सय ३३ रोपनी जग्गामा समेत हरियाली कायम गर्ने भएको छ। उक्त जग्गामा क्रिकेट मैदान निर्माण गर्ने तयारी भएकाले त्यसका लागि चाहिनेबाहेक बाँकी जग्गामा पार्क र बगैंचा बनाउने काम अघि बढाइसकेको तिवारीले जानकारी दिए।
नदीमा स्वच्छ पानी, आसपास बगैंचा
एक वर्षदेखि चल्दै आएको बागमती सफाइ अभियानले बागमती नदीलाई पुनर्जीवित तुल्याइरहेको छ। सरकारले अब बागमती मात्र होइन, उपत्यकाका सबै नदी सफा गर्ने भएको छ। बागमतीसँगै विष्णुमती र धोबिखोला सफाइ अभियान सुरु भइसकेको छ। सरकारले नदीमा मिसाइएका ढल हटाएर उपयुक्त ढल निर्माण अघि बढाइसकेको छ। पहिलो चरणमा ढल निर्माणमा जुटेको सरकारले जनसहभागितामा नदी सफाइको काम पनि गरिरहेको छ।
भाइकाजीका अनुसार केही वर्षपछि उपत्यकाका नदीका दायाँबायाँ दुवैतर्फ हरीयाली हुनेछ। दुवैतर्फको सडक कालोपत्रे गरेर साइकल लेनसमेत बनाइनेछ। बागमती नदी आसपासका क्षेत्रमा त बगैंचा निर्माणको काम सुरु भइसकेको उनले बताए।
ढलैढल र फोहोरको डंगुरले पुरिएका नदी करिडोरमा चिल्ला सडक र बगैंचा त बन्ला, तर मृत अवस्थामा पुगिसकेका नदीमा सफा पानी बगाउन सम्भव छ त?
'सडक र हरियाली निर्माणको काम दुई वर्षभित्रै सम्भव छ। नदीको पानी सफा बनाउन भने केही समय लाग्छ,' भाइकाजीले भने, 'नदीमा मिसाइएका ढल हटाउने तथा फोहोर फाल्नेलाई कारबाही गर्न थाले पानी विस्तारै सफा हुँदै जानेछ।'
सरकारले फोहोर पानी प्रशोधनका लागि प्रशोधन केन्द्र निर्माणको काम थालेको सहरी विकास मन्त्रालयले जनाएको छ। यसका लागि सरकारले १३ अर्ब रुपैयाँ बजेट छुट्ट्याएको छ। मन्त्रालयले पहिलो चरणमा बागमती र विस्तारै मनहरा, विष्णुमती र धोबिखोलामा ढल प्रशोधन केन्द्र बनाउने भएको छ। प्रशोधन केन्द्र निर्माण गर्न परामर्शदाता छनौट भई डिजाइन कार्य अघि बढाइसकेको सहरी विकास सचिव किशोर थापाले जानकारी दिए। उनका अनुसार एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण सुरु भइरहेको ढल प्रशोधनको काम सन् २०१९ सम्म सकिनेछ।
त्यस्तै, राजधानीका नदीमाथि रहेका पुलको रंग पनि फरक–फरक हुनेछ। पहिलो चरणमा सरकारले धोबिखोला करिडोरका सातवटा पुलमा सातथरिका रंग लगाउने भएको छ। करिडोरका नदी तथा सडक सफाइसँगै नदीमा पर्ने पुलमा छुट्टाछुट्टै रङ लगाउने तयारी भइरहेको भाइकाजीले जनाए। करिडोर हरियाली तथा सुन्दरता कार्यक्रमअन्तर्गत यो आयोजना अघि बढेको हो।
धोबिखोल करिडोरमा चाबहिल ओम अस्पताल अगाडिको चक्रपथ पुल, भत्केको पुल, कालोपुल, रातोपुल, मैतीदेवी सेतोपुल, हनुमानथानको पुल र बिजुलीबजार पुल छन्।
तिलगंगाबाट तीनकुनेसम्म बागमती नदी किनारका धेरै ठाउँमा पार्क बनिरहेका छन्। यसले त्यस क्षेत्रमा डेरा खोज्न आउनेहरूको चाप बढेको स्थानीय बताउँछन्। 'यस्तो गन्हाउने ठाउँमा को बस्छ भन्दै पहिले डेरामा बस्नसमेत कोही आउँदैन थिए,' एक स्थानीयले भने, 'बागमती सफाइ अभियान सुरु भएर पार्क बन्न थालेपछि दिनैपिच्छे कोठा खोज्नेहरू आउँछन्।'

सडक निर्माणको गुणस्तर कमजोर

विस्तारित सडक निर्माणले उपत्यकाको फेरिँदो रूपको सकारात्मक सन्देश फैलाए पनि गुणस्तरमा भने प्रश्न उठ्न थालेको छ। करोडौं खर्चेर निर्माण गरिएका राजधानीका धेरै स्थानका सडक उप्कने, भत्कने, भासिने तथा डल्ला पर्दै उस्सिन थालेका छन्। विस्तारपछि कालोपत्रे गरिएको ९० किलोमिटर सडकका विभिन्न खण्डमा कालोपत्रे गरिएको केही दिनमै यस्ता समस्या देखिएका छन्।
कतिपय सडक त हप्तादिनमै बिग्रिएको पाइएको छ। आयोजना प्रमुख खरेलले सरकारले कुनै योजना नै नबनाई अभियानका रूपमा सडक विस्तारको काम अघि बढाँउदा सुरुआती समयमा केही स्थानमा समस्या आएको बताए। 'कुनै योजनै नबनाई हतारमा निर्माण गर्दा केही स्थानमा समस्या देखिएको पक्कै हो,' उनले भने, 'आगामी दिनमा यस्तो समस्या दोहोरिने छैन।'
सरकारी निकायबीच आपसी समन्वय नहुँदा पनि निर्माण सम्पन्न भएका केही संरचना भत्काउनुपर्ने अवस्था आएको छ। सडक निर्माण क्रममा विद्युत, खानेपानी, ढल निर्माण गर्ने निकायबीच आपसी समन्वय नहुँदा नयाँ बनाइएका सडकसमेत कहिले खानेपानी त कहिले विद्युत र ढलले भत्काइरहेका दृश्य प्रशस्तै देखिन्छन्। विज्ञहरूले निर्माणको कामलाई गुणस्तरीय र दिगो बनाउन तत्काल सबै निकायबीच छलफल गरी गुणस्तरीय विकासको काम अघि बढाउन सुझाव दिएका छन्।
- See more at: http://nagariknews.com/feature-article/story/19992.html#sthash.0RZQH9ua.dpuf