इराकमा अपहरणकारीको पञ्जाबाट यसरी मुक्त भए नेपाली


७ असार, काठमाडौं ।
इराकको क्रिक्रृटस्थित आलदौराबाट अपहरणमा परेर मुक्त भएका रामेछापका ३२ वर्षीय बिष्णु बस्नेत ।
सरकारले इराकमा कोही पनि नेपाली अपहरणमा नपरेको दाबी गरिरहदा चार जना नेपाली भने शुक्रबार दिउँसो अपहरण मुक्त भएका छन् ।बिद्रोही र राज्य पक्षबीच भिडन्त भएको स्थान इराकको टिकृटबाट चार दिनअघि अपहरणमा परेका चार जान नेपाली कामदार शुक्रबार मध्यान्ह मुक्त भएका छन् । उनीहरुलाई  सुरक्षीत रुपमा स्थानीय होटलमा राखिएको छ ।

टिकृटबाट सुरक्षीत स्थान सुलेमानिया जानेक्रममा आलदौराको अन्तिम सिमानाबाट अलकाइदा भन्ने समुहबाट चार जना नेपाली सहित ४५ जना बिदेशी कामदार अपहरणमा परेका थिए । मुक्त हुनेमा रामेछापस्थित सुकाजौर गाबिसका ३२ बर्ष बिष्णु बस्नेत, धनकुटास्थित खुवाथोक गाबिसका ४४ वर्षीय इन्द्रकुमार लिम्बु, धनुकुटा मुडेबासका २४ वर्षीय सुबास नेवाङ, दाङ लमहीका अनिल चौधरी रहेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

'काम गर्ने टिकृट सहरमा भिडन्तहरु बढेपछि सुरक्षीत स्थान भनेर सुलेमानिया जाँदै थियौ',  अपहरणबाट मुक्त भएका बस्नेतले भने, 'तीन समूह बनाएर कम्पनीले गाडीमा पठाएको थियो । पहिलो समुह सुरक्षीत रुपमा गएको खबर आयो । त्यसपछि गएको दोस्रो समुह सम्पर्कमा नआउदै तेस्रो समुहमा हामीलाई पठाएको थियो ।' सुलेमानियाको बोर्डर नपुग्दै बीचबाटै हातियारधारी समुहले घेरा हालेको र त्यसपछि उनीहरुले आफ्नो ठाँउमा लगेको बस्नेतले बताए । 'त्यहा दोस्रो समुहमा गएका साथीहरु पनि अपहरणमा परेछन्', उनले भने । 

उनीहरुलाई आइतबारसम्म कम्पनीले नेपाल पठाइने जानकारी दिएको बस्नेतले बताए । उनीहरु इराकको एटिके कन्ट्रक्सन कम्पनीमा कार्यरत छन् । त्यसमा झन्डै २ सय नेपाली कार्यरत छन् । 
पाकिस्तानस्थित नेपाली राजदुत भरतराज पौड्यालले चारै जनासँग नियमीत सम्र्पकमा रहेको बताए । पौडेल भन्छन 'हामी उनीहरु चारै जनालाई छिटोभन्दा छिटो नेपाल पठाउनेमा लागिरहेका छौ ।'


अपहरण पर्नेमा पाकिस्तनी, टुर्की र भारतीय नागरीक थिए । हतियारधारी समुहले पुरै नियन्त्रणमा राखेको थियो । अपहरित नेपालीले हतियारधारीबाट राम्रो ब्यबहार भएको बताए  । 'बिदेशीलाई अपहरण गरेर दुःख दिने नियत हाम्रो होइन् । हामी हाम्रो अधिकारको लागि लडाई लडेको हो । तिमीहरु को हो भनेर बुझ्न नियन्त्रणमा लिएको हो', अपहरणकारीको भनाई उधृत गर्दै बस्नेतले भने ।


अपहरणपछि शुरुमा तनाब भएपनि बिस्तारै डर हट्दै गएको उनले सुनाए । 'शुरुमा मुस्लिम कि गैरमुस्लिम भनेर सोधे', बस्नेतले भने, 'त्यसमा हामीले मुस्लिम भएको बतायौं । त्यसपछि  उनीहरुले नमाज पढ्न लगाए । बेला बेला खाना, चिया, पानी खाना दिए ।'

अपहरणकारीले ती कामदारको सबै जानकारी लिएपछि छाडिदिएको थियो । छाड्नुअघि सबैलाई भिडियोमा बोल्न लगाइएको थियो । 'अलकाइदाबाट राम्रो ब्यबहार र सुरक्षीत रुपमा राख्न दिएको, खाना दिएको, बिरामीलाई औषधी उपचार गर्न लगाइएको भनेर सबैलाई एक एक गरी भिडियोमा बोल्न लगाइयो', बस्नेतले भने, 'यो भिडियो अन्तराष्ट्रिय मिडियामा दिने बताएका छन् ।'

बिद्रोही समुहले उनीहरुलाई शान्ति सेनामा खटिएका टुर्कीका सेनाको जिम्मेवारीमा छाडिदिएको हो । 'ल्याउने बेला हामी र उनीहरु चढेको गाडीको नम्बर प्लेटमा लत्तपत्त गरेर टुर्कीको शान्ति मिसनका टोलीलाई जिम्मा लगाएर फर्के', उनले भने, 'त्यसपछि हामी सबैलाई यहाँको होटलमा सुरक्षीत रुपमा राखेको छ ।'


त्यस कम्पनीमा कार्यरत रहेको नेपाली सबैलाई दुबई पठाउन लगेको उनले बताए । 'कतिपय नेपालीलाई पठाइसकेको छ', उनले भने, 'बाँकीलाई आइतबारसम्म पठाउने कम्पनीको योजना छ ।'  तीन बर्षअघि झन्डै २ लाख रुपैयामा उनीहरु इराक पुगेका थिए । उनीहरुको तलब ८ सय अमेरिकी डलरसम्म छ । उनीहरुले नेपालमा घरपरिवारसँग सम्र्पक भइसकेको बताए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >