विश्वकपको खालमा लाखौं–लाख

विश्वकपको खालमा लाखौं–लाख
काठमाडौं- आइतबार बेलुकी ५ बजे यस्तो एसएमएस आयो।
– बेल्जियम ७० पैसा–रसिया १ रुपैयाँ ५० पैसा
बराबर भए २ रुपैयाँ।

– दक्षिण कोरिया १ रुपैयाँ–अल्जेरिया १ रुपैयाँ २० पैसा
बराबर भए १ रुपैयाँ ३० पैसा।
– अमेरिका २ रुपैयाँ ५० पैसा, पोर्चुगल ६० पैसा
बराबर भए २ रुपैयाँ १० पैसा।
विश्वकपअन्तर्गत आइतबार रातिका तीन खेलको जुवाका दर हुन् यी। एसएमएसकर्ता हुन्, सट्टेबाजीका रूपमा परिचित जुवा खेलाउने गिरोहका एक स्थानीय एजेन्ट। उनले दिएको दरअनुसार बेल्जियमले जिते पैसा लगाउनेले १ लाख बराबर ७० हजार रुपैयाँ पाउँछ। रुसको नाममा बाजी लगाउनेले १ लाखको १ लाख ५० हजार पाउँछ। बराबर भए १ लाखको २ लाख आउँछ।
ब्राजिलमा विश्वकप फुटबलको सुरुआतसँगै नेपालमा निन्द्रा मारेर फुटबल हेर्नेको 'क्रेज' जति बढेको छ, प्रत्येक खेललाई जुवाको खाल बनाउने पनि कम छैनन्। अन्तर्राष्ट्रिय सट्टेबाज गिरोहको सञ्जालसँग जोडिएको यो विश्वकप खालमा लाखौं रुपैयाँ कारोबार हुन्छ। प्रभावशाली टोली भिड्दा एकैदिन ३० करोड रुपैयाँसम्मको जुवा चल्ने स्रोतहरू बताउँछन्।
विश्वकप सट्टेबाजसम्बन्धी जानकारहरूका अनुसार बेलुकी ४ देखि ७ बजेभित्र स्थानीय एजेन्टले जुवाको अन्तर्राष्ट्रिय दर पाउँछन्। खेल प्रारम्भ भएसँगै दर थपघट भइरहन्छ। जुन टिम बलियो हुन्छ, उसको दर घट्दै जान्छ। हार्नसक्ने टिमको दर बढ्न थाल्छ। यही आधारमा स्थानीय एजेन्टले दैनिक सम्पर्कमा रहेकालाई एसएमएसमार्फत चल्तीको दर पठाइरहन्छन्। त्यही हेरेर नाफा–घाटा जोडघटाउ गर्दै केहीले लगानी गर्छन् भने केहीले आफ्नो प्रिय टिमको नाममै जोखिम मोल्छन्।
नियमित जुवाडे हो भने स्थानीय एजेन्टले फोनकै भरमा बाजी लगाइदिन्छन्। हारजितपछि पैसा हिसाबकिताब गरिन्छ। सट्टाबजारमा नयाँ हो भने फोन गरेपछि स्थानीय एजेन्ट पैसा लिन पुग्छन्।
शनिबार राति अर्जेन्टिना र इरानविरुद्धको खेलमा अर्जेन्टिनाको पक्षमा पैसा लगाउने सट्टेबाजहरूले १ लाख बराबर २० हजार कमाए। यो खेलमा इरानको पक्षमा १ लाख बराबर १८ लाखको दर चलेको थियो। 'मेरै समूहका ५० जनाले इरानको पक्षमा पैसा लगाएका थिए,' ठमेलको एक रेस्टुरेन्टमा बसेर बाजी लगाउने एकजनाले भने, 'सबैको गरी ५० लाखजति खेर गयो।'
केन्द्रीय प्रहरी प्रवक्ता गणेश केसीले विश्वकपको बहानामा चल्ने जुवा नियन्त्रणप्रति प्रहरी सचेत र सजग रहेको दाबी गरे। खेलकुदको आवरणमा जुवाको खेल भइरहेको सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयले सबै जिल्ला र अनुसन्धान निकायलाई अनुगमन तथा अनुसन्धान गरी नियन्त्रणका लागि निर्देशन दिएको उनले बताए।
'अलि आधुनिक प्रकृतिको जुवा भएकाले सामान्य रूपमा नियन्त्रण नहुन सक्छ,' उनले आइतबार नागरिकसँग भने, 'यस्तोमा संलग्न समूहको खोजीका लागी निगरानी बढाउन र पक्राउ गरेर कारबाही गर्न केन्द्रले निर्देशन दिएको छ।'
विश्वकप सुरु भएदेखि नै राजधानीलगायत प्रमुख सहरमा सट्टा (जुवा) बजार गर्माएको छ। सट्टेबाजका मुख्य एजेन्ट राजधानीको ठमेलकेन्द्रित छन्। काठमाडौंमा अहिले तीन तहका सट्टेबाजका मुख्य सहयोगी सक्रिय रहेको स्रोत बताउँछ। पहिलो समूहले १० लाख रुपैयाँभन्दा कम बाजी लिँदैन। व्यापारी र आर्थिक रूपमा सम्पन्नहरू यसमा सक्रिय छन्। दोस्रो समूहले १ लाखसम्मको बाजी स्वीकार गर्छ। तेस्रो समूहले भने १ हजार रुपैयाँको बाजी पनि लिन्छ। कम पैसाको जुवा खेल्नेहरू यसमा आकर्षित छन्। सबभन्दा बढी चल्तीको समूह यही हो।
पछिल्लो तीन महिनादेखि नेपालमा सक्रिय सट्टाबजारमाथि अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीका अनुसार यहाँका सट्टेबाजहरूको अन्तर्राष्ट्रिय सञ्जालसँग सम्पर्क भए पनि आफैं दर तोक्ने हैसियतका भेटिएका छैनन्। नेपालमा सक्रिय एजेन्टहरू सिंगापुर, दुबई र भारतको दिल्लीमा रहेका सट्टेबाजबाट दर लिएर नेपालमा एजेन्टमार्फत् जुवा खेलाउँछन्। उनीहरूको आर्थिक कारोबार हुन्डीमार्फत् हुन्छ।
राजधानीबाहिर पोखरा, धरान, वीरगन्ज, भैरहवालगायत सहरसम्म सट्टेबाजको जालो फैलिएको ती प्रहरी अधिकारीले बताए। स्थानीय एजेन्टका रूपमा सक्रिय केही सहयोगीले दिएको तथ्यांकअनुसार ब्राजिल, अर्जेन्टिना, फ्रान्स, जर्मनीजस्ता प्रभावशाली टिमको खेल हुँदा एक स्थानीय एजेन्टले ३० लाख रुपैयाँसम्म बाजी रकम संकलन गर्दै आएका छन्। उनका अनुसार यस्ता एजेन्ट संख्या १ सय हाराहारी छ। 'यो तथ्यांक हेर्दा प्रभावशाली समूहबीचको खेल हुँदा ३० करोडसम्म जुवा चल्ने अनुमान छ,' उनले भने।
नेपालमा सक्रिय एजेन्टले सहयोगी र नियमित सम्पर्कमा रहेका जुवाडेलाई नै सहयोगीका रूपमा परिचालन गर्छन्। नयाँ विश्वासिलाको खोजी गर्ने, उनीहरूलाई दर पठाउने र बाजी लिने, पैसा उठाउनेलगायत काममा उनीहरू नै खटिन्छन्।
जानकार स्रोतका अनुसार जुवा खेलाउनेहरू सुरक्षाकर्मीको आँखा छल्न सकेसम्म इन्टरनेटमार्फत् दर आदान–प्रदान गर्छन्। मुख्य एजेन्टले भाइबर, लाइनेजजस्ता सञ्जालमा मात्रै सम्पर्क गर्छन्। प्रायः बेलुकीको समय उनीहरूलाई इन्टरनेटमा बस्न निर्देशन आउँछ। भाइबरबाट बाजीको दरमा हुने उतारचढावबारे जानकारी लिइन्छ। स्थानीय एजेन्टले बाजी राख्नेसँग एसएमएस र फोनबाटै सम्पर्क गर्छन्।
क्रिकेट, फुटबललगायत अन्तर्राष्ट्रिय खेलकुदमा जुवा लगाउने यस्ता स्थानीय एजेन्टमध्ये केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ। युरोपियन कप हुँदा सट्टेबाजीमा सक्रिय रहेको भनी प्रहरीले दुई महिनाअघि विनोद महर्जनलाई पक्राउ गरेको थियो। पक्राउपछिको अनुसन्धान उपलब्धिमूलक हुन नसक्दा प्रहरी सट्टाबजारको माथिल्लो तहसम्म पुग्न सकेन। महर्जन अहिले छुटिसकेका छन्।
सम्पर्कका लागि प्रविधि उपयोग गर्दा ट्र्याक गर्न असहज हुने, सुरक्षित स्थानमा बसेर संगठित रूपमा काम गर्ने, प्रभावशाली व्यक्तिको संरक्षण र रकम ओसारपसार हुन्डीमार्फत गर्ने हुँदा स्थानीय एजेन्टको पक्राउबाट सम्पर्कको जालो केलाउन अप्ठ्यारो भएको ती अधिकारीले अनुभव सुनाए।
'विश्वकपमा जुवा खेलाउने स्थानीय एजेन्टहरू टोल–टोलसम्म विस्तार भइसकेकाले तल्लो तहका सहयोगी पक्राउ गर्न कठिन छैन,' नाम उल्लेख गर्न नचाहने ती प्रहरी अधिकारीले भने, 'तर जालो भत्काउने हो भने नियमित अनुगमन र प्रविधियुक्त अनुसन्धानबिना सम्भव छैन।'
सट्टा बजार रोक्ने बलियो कानुन नहुनुले पनि प्रहरीको हात बाँधिएको उनी बताउँछन्। अनुसन्धान प्रक्रिया जटिल र कठिन भए पनि पक्राउ परिसकेपछि जुवा ऐनअनुसार मात्र कारबाही गर्न सकिन्छ। यसमा चार हजार रुपैयाँ धरौटी तिरेर सहजै छुट्न सक्छ।