नेपाललाई निलम्बन गर्ने आइसिसीको संकेत

नेपाललाई निलम्बन गर्ने आइसिसीको संकेत
काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले 'निर्देशन नमानेको' भन्दै नेपाललाई निलम्बन गर्न सक्ने संकेत देखाएको छ। यसका लागि आइसिसीले यही असार १० गते अस्ट्रेलियाको मेलबर्नमा हुने वार्षिक बैठकमा औपचारिक चेतावनी दिने भएको छ।
सिद्ध क्रिकेट वेबसाइट क्रिकइन्फोका अनुसार नेपालले आइसिसी विधानको दफा २.१ नमानेका कारण कारबाही प्रक्रिया अघि बढाइएको हो। त्यसअनुसार कम्तीमा दुई पूर्णकालीन कर्मचारी वा एक पूर्णकालीन कर्मचारी र दुईजना करार कर्मचारी नियुक्त गर्नुपर्छ। कार्यकारी प्रमुख/महाप्रबन्धक र डेभलपमेन्ट अफिसर/व्यवस्थापकका साथै प्रशिक्षक र यू–१९ प्रशिक्षकसमेत नियुक्त गर्नुपर्ने प्रावधान छ।
आइसिसी विधानअनुसार काम नगरेकाले नेपालसहित एसोसिएट राष्ट्रहरू अमेरिका र जाम्बिया तथा एफिलिएट राष्ट्रहरू ब्रुनाई, टर्की र टोगोलाई चेतावनी दिएर कारबाही गर्न सकिने क्रिकइन्फोले जनाएको छ। नेपाललाई सुरुमा एक वर्ष थप समय दिने र त्यसपछि निलम्बन गर्न सकिने जनाइएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक अध्यक्ष तारिणीविक्रम शाहले आइसिसीले भनेको समयमा कर्मचारी नियुक्त गर्न नसकेको स्वीकार गर्दै यसका लागि प्रक्रिया अघि बढाइसकेको बताए। 'नेपाली क्रिकेटको पछिल्लो घटनाक्रमबारे हामीले उनीहरूलाई जानकारी गराउँदै आएका छौं,' उनले बिहीबार नागरिकसँग भने।
क्यानले कार्यकारी प्रमुख र फाइनान्स व्यवस्थापकका लागि जेठ १६ मा सार्वजनिक सूचना प्रकाशित गरेको थियो। त्यसको आवेदन मिति शुक्रबारसम्म बाँकी छ।
क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले हालसम्म कार्यकारी प्रमुखमा ३० र फाइनान्स व्यवस्थापकमा ७० जनाले आवेदन दिइसकेको जनाए। 'पाँच दिनभित्र प्रारम्भिक छनौट गरिनेछ,' उनले भने।
आइसिसीले चेतावनी दिएकामा नेपाल माथिल्लो वरियताको राष्ट्र हो। नेपालले मार्चमा बंगलादेशमा आइसिसी विश्व ट्वान्टी–२० मा सहभागिता जनाउँदै हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो। नेपाल र अमेरिका दुवै डिभिजन ३ मा छन्। सन् २००४ मा च्याम्पियन्स ट्रफी खेलेको अमेरिकालाई त्यसपछि प्रशासनिक अवरोधका कारण दुई वर्ष निलम्बन गरिएको थियो।
आइसिसीको बाध्यात्मक निर्देशनलाई नेपालले बेवास्ता गर्दै आएको थियो। फागुन १२ मा आइसिसी र एसियाली क्रिकेट परिषदको टोली काठमाडौं आएर राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव युवराज लामासहित क्यानका पदाधिकारीलाई बाध्यात्मक निर्देशनबारे जानकारी गराउँदै अन्तिम चेतावनी दिएको थियो।
खेलकुद परिषदमा भएको बैठकमा सदस्य–सचिव लामासहित आइसिसी प्रतिनिधि अमर शेख, एसिसीका डेभलपमेन्ट म्यानेजर बन्दुला वार्नापुरा, डेभलपमेन्ट अफिसर रुमेश रत्नायके, एसिसीका कार्यकारी सदस्य हैदर फरमान, एसिसीका प्रोग्राम संयोजक एवं इभेन्ट्स कार्यकारी गणेश सुन्दरामुर्थी तथा क्यानबाट शाह र तत्कालीन महासचिव अशोकनाथ प्याकुर्यारल सहभागी थिए। क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ भने बैठकमा थिएनन्।
'त्यही बेला उनीहरूले दुई साताभित्र सबै कर्मचारी नियुक्त गर, अन्यथा कारबाही हुने चेतावनी दिएका थिए,' शाहले भने, 'उनीहरूले क्यान अध्यक्ष पनि खोजेका थिए, हामीले व्यस्तताका कारण अध्यक्ष अनुपस्थित रहेको बतायौं। त्यही दिन एनपिएलको घोषणा कार्यक्रममा अध्यक्ष सामेल भएको थाहा पाएपछि उनीहरूले प्रश्न उठाए। त्यही विषयलाई लिएर बन्दुलाले एसिसीबाट एनपिएलको आधिकारितामाथि नै प्रश्न उठाए।'
शाहले अन्य विषयमा पनि एसिसी र आइसिसीले सोधिखोजी गरिरहेको बताए। 'राष्ट्रिय प्रतियोगिता नखेल्ने, तर क्यानले मान्यता नदिएको प्रतियोगिता खेलेकाले खेलाडीको विषयमा र प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता नवीकरणको विषयमा पनि उनीहरूले प्रश्न गरिरहेका छन्,' शाहले भने।

आइसिसी बैठकमा नेपाल अन्यौल

असार १० मा हुने आइसिसीको वार्षिक बैठकमा नेपालको सहभागिता अन्यौल छ। क्यानले कार्यवाहक अध्यक्ष शाहलाई बैठकमा पठाउने तयारी गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यानका अध्यक्ष आङबुहाङ, महासचिव प्याकुर्या्ल, उपाध्यक्षहरू चतुरबहादुर चन्द र विनोद मैनालीसहित अन्य पदाधिकारीलाई भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आरोपितहरू क्यानबाट अलग बसेकाले शाह बैठकमा जान लागेका हुन्। 'निर्धारित तालिकाअनुसार अध्यक्ष आङबुहाङ र महासचिव प्याकुर्याैल जाने तय भएको थियो। उहाँहरूको भिसा पनि आइसकेको थियो,' शाहले भने, 'हामीले नेपाली क्रिकेटको पछिल्लो घटनाबारे जानकारी गराएपछि आइसिसीले मंगलबार बैठकका लागि निमन्त्रणा पठाएको छ, त्यसैअनुसार आवेदन गरेका छौं।'
नियमित प्रक्रियाअनुसार भिसा आवेदनको निम्ति लामो सयम लाग्ने भएकाले आइसिसीलाई छिटो गरिदिन अनुरोध गरेको उनले जनाए। शुक्रबारसम्म पनि भिसा नआए नेपालको आइसिसी बैठकमा उपस्थिति रहने छैन्। कार्यवाहक महासचिव कर्माचार्यले असार १६ गते हुने एसिसी बैठकमा नेपालले सहभागिता जनाउने जानकारी गराए।