अन्तिम समयको गोलले पोर्चुगल जोगियो

खेल सकिन केही सेकेन्ड बाँकी हुदाँ संयुक्त राज्य अमेरिका बिरुद्ध बराबरी गोल गरेपछि पोर्चुगलले दोस्रो चरणमा पुग्ने आशा गणितीय रुपमा कायम राखेको छ।
पोर्चुगलका कप्तान क्रिस्टीयानो रोनाल्डोको सहयोगमा 
अन्तिम गोल सम्भवं भएको थियो।

सोमबार बिहान दुई देशबीच भएको संघर्षपूर्ण खेल दुई-दुई गोलको बराबरीमा टुंगिएको थियो।
अन्य दुई खेलमा अल्जेरीयाले किर्तीमानी जित हात पारेको छ भने वेल्जियम रुसलाई हराउँदै दोस्रो चरणमा पुगेको छ।

नाटकीय

खेल सकिन ३० सकेन्ड बाँकी हुँदा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको क्रसमा सिलवस्त्रे वरेलाले अमेरिकाको जालीमा बल चुमाए।
ग्रुप जीको रोमाञ्चक उक्त प्रतिष्पर्धामा एक-एक गोलको बराबरी खेलिरहेका बेला ८१औं मिनेटमा गोल गरेपछि अमेरिका जितको नजिक पुगेको थियो।
तर अन्तिम समयमा नाटकीय शैलीमा गोल गरेपछि पोर्चुगलले विश्वकप यात्रा कायम राख्ने अवसर पाएको छ।
नानीको गोलमा खेलको सुरुवातमा नै अग्रता कायम गरेको पोर्चुगल बिरुद्ध मध्यान्तरपछि अमेरीकाले गोल फर्काएको थियो।
दोस्रो चरणमा पुग्न आगामी खेलमा पोर्चुगलले घानालाई ठूलो गोल अन्तरले हराउनुपर्नेछ।
तर त्यो झीनो आशा पुरा हुन दिन आफ्नो अन्तिम लिग खेलमा जर्मनीले अमेरिकालाई फराकिलो गोल अन्तरले जित्नुपर्नेछ।
जर्मनी र अमेरिकाले बराबरी खेले गणितीय आधारमा दुवै टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्।

किर्तिमान

विश्वकप फुटबलको खेलमा चार गोल गर्ने पहिलो अफ्रिकी राष्ट्रको किर्तिमान राख्दै अल्जेरियाले दक्षिण कोरियालाई हराएको छ।
पहिलो खेल साँघुरो अन्तरले बेल्जियमसँग गुमाएको अल्जेरियाले आगामी खेलमा रुस बिरुद्ध जित निकाले सिधैँ दोस्रो चरणमा प्रवेश पाउने छ।
बेल्जियम अन्तिम खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिए पनि अल्जेरीयालाई नै फाइदा पुग्नेछ।
अल्जेरीयाले विश्वकपमा खेलेका सातवटा खेलमा गरेको भन्दा बढी गोल दक्षिण कोरीया बिरुद्ध हान्यो
दक्षिण कोरियाले विश्वकपका पछिल्ला सातवटा आफ्ना खेलमध्ये एउटा मात्र जितेको छ।

उपलब्धी

प्रतिस्थापित खेलाडी डिभाको रिगीले खेल सकिन दुई मिनेट बाँकी रहँदा गोल गरेपछि रुसलाई एक-सून्यले हराउँदै बेल्जियमले दोस्रो चरण खेल्न पाउने अन्तिम १६ टोलीमा आफ्नो स्थान सुरक्षित गरेको थियो।
अघिल्लो खेल दक्षिण कोरियासँग एक-एकको बराबरीमा खेलेको रुसले आफ्नो दोस्रो खेलमा सुधारिएको प्रदर्शन गरेको थियो।
दुई जित सहित ६ अंक रहेको बेल्जियमले दोस्रो चरणभन्दा अघि बढ्न खेलको स्तर निक्कै उकास्नु पर्ने कतिपयको विश्लेषण छ।

एकजना प्रमुख रक्षापक्तिंका खेलाडी टमस भर्मेलियन घाइते भएपछि बेल्जियमलाई चुनौती थपिएको छ।