अस्ट्रेलियाले घर फर्किने आप्रवासीलाई १० हजार डलर दिने

सिड्नी : अस्ट्रेलियाले प्रशान्त क्षेत्रका आप्रवासी शिविरहरूमा रहेका व्यक्तिहरू स्वेच्छाले आफ्नो घर फर्कन चाहन्छन् भने १० हजार अस्ट्रेलियाली डलर उपलब्ध गराउने प्रस्ताव राख्‍ने भएको छ।फेयरफ्याक्स मिडियाले दिएको समाचारमा पपुवा न्युगिनीको मानुस द्वीप तथा नाउरुको हिरासत केन्द्रमा राखिएका लेबनानीहरू स्वदेश फर्कन चाहेमा उनीहरूलाई १० हजार डलर दिने प्रस्ताव राखिएको उल्लेख गरिएको छ।



इरानी तथा सुडानीले शरणार्थीस्तर माग गर्ने प्रयास परित्याग गरेमा उनीहरूलाई सात हजार अस्ट्रेलियाली डलर उपलब्ध गराइने बताइएको छ। अफगान नागरिकलाई स्वदेश फर्कन चार हजार अस्ट्रेलियाली डलर तथा पाकिस्तान, नेपाल तथा म्यानमारका नागरिकलाई तीन हजार तीन सय डलर उपलब्ध गराइने समाचार द सिड्नी मर्निङ हेराल्डले दिएको छ। हेराल्डले यसअघिको लेबर प्रशासनमा यसरी दिइने रकम निकै थोरै रहेको र त्यस समयमा एक हजार पाँच सयदेखि दुई हजार अस्ट्रेलियाली डलर दिने गरिएको उल्लेख गरेको छ। अघिल्लो सरकार गत सेप्टेम्बरसम्म कायम रहेको थियो।

आप्रवासमन्त्री स्कट मोरिसनले यस दरलाई पुष्टि गरेका छैनन्। उनका प्रवक्ताले यसरी फिर्ता जाने व्यक्तिको परिस्थिति हेरी उनीहरूलाई उपलब्ध गराइने रकम भिन्न हुनसक्ने जानकारी दिए। प्रवक्ताले स्वेच्छिक रूपमा फर्कने प्रक्रियालाई अन्तर्राष्ट्रिय आप्रवास संगठनसँग साझेदारीमा सञ्चालन गरिने बताए।

यस्तो नीति र अभ्यास गत १० वर्षदेखि कायम रहेको बताइएको छ। लेबरको आप्रवाससम्बन्धी प्रवक्ता रिचर्ड मार्लेसले शरण लिन चाहने व्यक्तिको दाबीलाई उचित रूपमा अगाडि बढाउनुपर्ने र उनीहरूलाई ब्यांक चेक वितरण गर्न नहुने बताए।उहाँले मन्त्री मोरिसन प्रतिपक्षमा रहँदा लेबरको पुनस्र्थापनाका सुविधाको विरोध गरेको र हाल उहाँले ते›बर रकम उपलब्ध गराउने प्रस्ताव राखेको एबीसी टेलिभिजनलाई बताए। रासस / एएफपी